काठमाडौं । नेपालमा बीमाको पहुँच ४९.८२ प्रतिशत नागरिकमा पुगेको देखिएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त चालु आर्थिक बर्ष २०८२/८३ को माघ मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । यद्यपि, यो गत पुस महिनाको तुलनामा भने कम हो । गत पुससम्म बीमाको पहुँच ५० प्रतिशत थियो । माघ मसान्तमा आउँदा त्यो घटेको देखिएको छ ।
म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमा पहुँच उक्त विन्दुमा देखिएको हो । यस्ता प्रकारका बीमालेख हटाउँदा बीमाको पहुँच १८.१० प्रतिशत नागरिकमा देखिन्छ ।
म्यादी र लघु म्यादी बीमालेख सहित गर्दा भने बीमाको पहुँच ४२.२९ प्रतिशत नागरिकमा रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरणको तथ्यांकअनुसार माघ मसान्तसम्म कुल सक्रिय बीमालेख एक करोड ६२ लाख १५ हजार ३६९ छ । कतिपयले दोहोरो रुपमा पनि बीमालेख खरिद गरेका हुन्छन् । त्यसले गर्दा सक्रिय बीमालेखलाई पाँच प्रतिशतले घटाएर बीमा पहुँच गणना गर्ने अन्तरराष्ट्रिय अभ्यास छ । त्यही अनुसार नेपालमा बीमाको पहुँच गणना गरिएको हो ।
चालु आवको सात महिनामा जीवन बीमा व्यवसाय भने १८.४३ प्रतिशतले बढेको छ । गत आवको माघ मसान्तसम्म ९६ अर्ब एक करोड १८ लाख रूपैयाँ जीवन बीमाशुल्क संकलन भएको थियो । चालु आवको सात महिनामा एक खर्ब १३ अर्ब ७१ करोड चार लाख रूपियाँ बीमाशुल्क संकलन भएको छ । हाल नेपालमा १४ ठूला र तीन लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् ।